सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : शपथपछि रवि लामिछाने


कृष्ण बुढाथोकी

१५ बैशाख २०८०, शुक्रबार,
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने जानकारी दिएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारमा जाने कुरामा सोचाई नभएको र कुनै त्यस किसिमको वातावरण नबनेको जानकारी दिएका हुन् । लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नु पर्ने विषय भएको भन्दै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर मात्र निर्णय लिने जानकारी दिएका हुन् ।

७–८ महिना अघि जन्म लिएको आफ्नो दल अस्थिरताको पक्षमा नरहेको पनि लामिछानेले स्पष्ट पारे । तर सरकारले आफूले समर्थन पाहिरहेको छु र पाइरहे हुन्थ्यो भन्नका लागि न्यूनतम ठाउँ राख्नुपर्ने र त्यो ठाउँ राखेको छ कि छैन भन्ने कुरा पुनरावलोकनको विषय बनेको उनले खुलासा गरे। अब यसबारे पार्टीमा र संसदीय दलमा छलफल गरेर मात्र अगाडि बढ्ने सभापति लामिछानेको भनाई छ ।

लामिछानेले प्रधानमन्त्रीसँग कुरा भएको विषय बारेको जिज्ञासामा भने– ’प्रधानमन्त्रीले अहिलेका लागि उपनिर्वाचनमा भएको जितमा बधाई दिनको लागि मात्र फोन गर्नुभएको हो । यस्तो सुनेको थिएँ के हो भनेर चासो सम्म राख्नुभएको थियो । सरकार सम्बन्धी त्यस्तो गम्भीर छलफल भएको हैन र छैन पनि, उहाँले मलाई बधाई दिन फोन गर्नुभएको थियो ।’ उनले चुनावका बेलामा हेलिकप्टर लिएर गएर मन्त्री पद नै दिने जस्ता आश्वासन बाँडेका लगायतका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

सम्बन्धित खबर