आईतबार, १४ श्रावण २०८०, दोलखा।
दोलखाका अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ।
स्थानीयका अनुसार हिउँदमा बाँदर घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छन्। वर्खामा बारीमा लगाएका मकै, भटमास लगायतका बाली नष्ट गरिदिन्छ।
यतिबेला किसानका बारीमा मकैले घोगा निकाल्न थालेका छन्। बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाना देखिन्छन्। छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि गोठालो बसेका छन्।
उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन्। एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन्। यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नु पर्ने बाध्यतामा छ।
‘बस्ती पातलिदैं गएपछि घर वरपर जंगल बढ्यो,’ गौरीशंकर गाउँपालिकाका एक स्थानीय भन्छन्, ‘यसपालीबाट त घरमै बाँदर पस्न थालिसके।’
जिल्लाको धेरै स्थानमा रातो बाँदरले आतंक नै मच्चाएका छन्। केही स्थानमा सेतो प्रजातीका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकको गुनासो छ। हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने उनीहरू गुनासो गर्छन्।
दुख गरेर लगाएको खेती बाँदरले सकेपछि यतिबेला जिल्लाका सबैजसो ठाउँका किसान मर्कामा परेका छन्। बाँदर नियन्त्रणका लागि स्थानीय तहले कुनै नीति नल्याउँदा उनीहरू थप निराश बनेका छन्।
सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नु पर्ने बाध्यता रहेको मेलुङ गाउँपालिका वडा नं. १ का किसान बैकुण्ठ कोइरालाले बताए।
असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उनले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताए। उनका अनुसार बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता छ।
‘पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ। त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ’, उनले भने, ‘के गर्ने बल्ल तल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो।’
कतिपय किसानले बाँदर डराबस् भनेर दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने गरेका छन्।
त्यस्तै कतिपयले पुरानो कपडाको डमी बनाएर राखेका छन्। पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको चिसापानीका किसान प्रभु बुढाथोकीले बताए।
उनले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताए। बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुःखेसो पोखे। बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ।
‘बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो। धेरै उपाय पनि अपनाइयो तर सकिएन। दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ,’ उनले भने, ‘मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतङ्क पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे।”
बाँदर नियन्त्रणका लागि मेलुङ गाउँपालिका–१ ले अघिल्लो वर्षबाट बजेट छुट्याएर नै काम गर्ने योजना तयार गरेको थियो। तर, प्रभावकारी भने हुन सकेन।
यसपाली नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको पिडित समुदायको छ।
पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको पिड्क समुदायको भनाइ छ। कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतङ्कबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने देखिन्छ।
‘बाँदर आतङ्क बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति प्रभावकारी भएन’, किसानले भने, ‘अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छाड्यो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समधान गर्नतर्फ लाग्नुपर्ने भयो।’
© २०८२, अनलाईन बुलेटिन