शुक्रबार, २२ भदौ २०८०, दोलखा। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।

सर्वोच्च अदालतको आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त भएका हुन्। यसैगरी, प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टा भित्र ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो। धारा १ सय ६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएकाले उपधारा ३ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले भनेको हो।

संविधानले नै मार्ग निर्देशन गरेको अवस्थामा फेरि उपधारा २ मा जान नमिल्ने भएको अदालतको फैसलामा उल्लेख रहेको छ। गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४ मा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।