आइतबार, २४ भदौ २०८०, दोलखा। पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परि काभ्रेपलाञ्चोक र सिन्धुली सहित विभिन्न जिल्लाका १२ जनाको मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो। सिन्धुलीको दुधौली नगरपालिका–१० रातमाटास्थित सडकमा कमलामाई बोर्डिङ स्कुलको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जल्किनेबाट दुधौलीतर्फ जाँदै गरेको बा ४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ का ५२ वर्षीय समर बहादुर तामाङको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो। सो बसले प्रदेश १–०५–००१ ह ०१८३ नम्बरको अटोलाई ठक्कर दिँदा अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिन पुगेकोे थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिकामा तीन सवारी साधन एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोककी एक युवतीको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ स्थित सडकमा प्रदेश ३–०२–००२ प ६९३ नम्बरको मोटरसाइकल बागमती प्रदेश ०३–००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किँदा गएराती मोटरसाइकलमा सवार काभ्रेपलान्चोक बनेपा नगरपालिका–२ घिमिरेगाउँकी २५ वर्षीया नविना काफ्ले घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सो मोटरसाइकल बाग्मती प्रदेश ०२–०२३ प २८५९ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भई टेलर गाडीमासमेत ठोकिन पुग्दा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ। टेलर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, बाँकेको राप्तीसोनारी बस दुर्घटना हुँदा ७ जना, चितवनको राप्ती नगरपालिकामा, सुनसरीको धरान उपमहानगरपालिकामा र झापाको कमल गाउँपालिकामा एकरएक जनाको मृत्यु भएको छ ।