आइतबार, १४ असोज २०८०, दोलखा। सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले १ सय २० किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट १ सय २० किलोग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले गाँजा बरामद गरेको हो। भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाँजा फेला परेको थियो।

गाँजा भारत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा भारत घर भएका अररिया बथनाहाका सवारी चालक महमद सिराज, अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार शाह रहेका छन्। यस्तै, ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश शाह पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरुबाट लागु औषध गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५ सय ६० र भारतीय १ हजार ७ सय ४० रुपैयाँ, ६ थान मोवाइल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।