मंगलबार, ०५ असार २०८०
दोलखा । काठमाडौँ महानगर स्थित माइतीघर मण्डलामा नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।
पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको छ । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेस बढेपछि सरकार पक्षले नै अस्पताल भर्ना गरेको जानकारी दिइन ।
शर्माकी श्रीमतीले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको बताइन् । नेता शर्मा अझै आमरण अनसनमै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे तर पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिइ रहेका छन् ।
डिस्चार्ज पञ्चात पुनः माइतीघरमा नै गएर अनसन बस्ने तयारी रहेको छ । माइतीघरमा अनसन बस्दै आएका शर्मालाई त्यहाँ टेन्ट बनाउन दिइएन । पानीमा रुझ्दै भिज्दै अनसनलाई निरन्तरता दिएको कारण झन् बिरामी परेको श्रीमती शर्माले बताइन् ।
संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नेता शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए ।
