२० बैशाख २०८०,बुधबार
दोलखा । दिन प्रति दिन वैदेशीक यात्रा गर्नेहरुले नेपाली नागरिकता त्याग्दै गरेको अनुभव छ । यसैगरी रुपन्देही जिल्लामा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरि सकेका छन्।

हाल जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका रहेछन्।

रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिए पछि नेपाली नागरिकता त्याग गरेको देखिन्छ।

२०६८ सालमा तिलोत्तमाकी रिना सार्कीले बेलायतको नागरिकता लिन पहिलोपटक नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासनको रेकर्डमा उल्लेख छ।

त्यस्तै गएको दोस्रो साता चैत महिना सियारी गाउँपालिकाकी स्वस्तिमा कामीले पनि बेलायतको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्याग गरेकी छन्।

यसअघि २०७५ साल भदौ ६ गते बुटवलका एकै परिवारका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागेका थिए।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कानूनतः दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू बढिरहेको जानकारी दिए।

उनका अनुसार पछिल्लो एक वर्षमा मात्रै रुपन्देहीका २८ जनाले नेपाली नागरिकता त्यागेका छन्। भारत लगायत तेस्रो मुलुकको नागरिकता लिने भन्दै स्वदेशी नागरिकता त्याग्ने गरेको उलेखनिय छ।

कुनैपनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूचि ९ अनुसार दुतावास, गृहमन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था छ।

नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी बेलायत र हङकङको नागरिकता लिने बढी रहेका छन्।

यस्तै सिंगापुर, अष्ट्रिया, कोरिया, क्यानडा, अमेरिका, भारत लगायतका मुलुकको नागरिकता लिनेक्रम बढदै गएको छ।
नेपाली स्वदेशमा अवसर नहुनु, राजनीतिक अस्थिरता, विदेशमा श्रमअनुसारको पारिश्रमिक पाउनु र भविष्यको सुरक्षाको खोजी लगायतका कारण पनि नेपालीहरूले स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिइरहेको जानकारी प्राप्त भएको छ।