फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन्।
ताम्राकार बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको छ।
फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए। यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ।
सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन्। पिताको लिगेसी पछ्याउँदै उनी फिल्म अभिनयमा आइपुगेका थिए।
