मंगलबार, २६ असार २०८०
दोलखा । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन्। मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल र फ्रान्स बीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको नीजि सचिवालयले बताएको छ।
भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देश बीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरेका थिए। ‘हामी बीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ,’ घिमिरेको भनाइ रहेको थियो। त्यसक्रममा सभामुख घिमिरेले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको जानकारी दिएका छन।
राजदूत गिल्स बोरबाओले नेपालले र फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए। उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गरेका छन।
