लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने १४९ जना चालकलाई कारबाही गरिएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आर्थिक वर्ष २०७९/८० मा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ।

सोही क्रममा चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए/नचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो।

लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।