साउन ७ गते काठमाडौको सामाखुसीमा १२ वर्षीय साजन मगर सडक छेउको नालामा खसेर बेपत्ता भए। १० दिनअघि सामाखुसीको नालामा खसेर बेपत्ता भएका बालक अझै भेटिएका छैनन्।
काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी कलेज अगाडि नालामा खसेका १२ वर्षीय साजनको अहिलेसम्म पत्तो नलागेको हो।
बाढीका कारण नाला र सडक छुट्याउन नसक्ने भएपछि उनी नालामा खसेको स्थानीयले बताउँदै आएका छन्।
साजन मात्र होइनन्, संघीय राजधानी जस्तो ठाउँमा हरेक मनसुनमा सडकको नाला र ढलमै धेरै बालबालिकाले ज्यान गुमाउँदै आएका छन्।
हरेक वर्ष हुने यस्ता घटनालाई समयमै न्यूनीकरण गर्न नसक्दा अझै कहिलेसम्म यो मार खेप्नुपर्ने हो र कति बालबालिकाले ज्यान गुमाउनुपर्ने हो थाहा छैन।
विशेषगरी वर्खायाममा नियम परेको पानीले खोलानालामा बाढी आउने र सडकमा अव्यवस्थित तरीकाले ह्याङ्गै छोडेका संरचनाका कारण हरेक वर्ष बालबालिकाहरूले डुबेर ज्यान गुमाइरहेका छन्।
त्यस्तै पछिल्लो समय काठमाडौंका सडक र फुटपाथलाई व्यवस्थित बनाउन काठमाडौं महानगरले स्ल्याब भत्काउने काम गरिरहेको छ। तर समयमै संरचना तयार नगर्दा बाटोमा अलपत्र छोड्दा झनै दुर्घटनाको जोखिम बढेको देखिन्छ।
उपत्यकाका विभिन्न ठाउँमा ढल र नाला ह्वांगै छन्। खोला, खाल्डोमा जमेको पानी, पोखरी, इनारमा पसेर बर्सेनी कयौं मानिसको ज्यान गुमाइरहेका छन्।
पछिल्लो चार वर्षमा विभिन्न कारणबाट डुबेर २ हजार ३ सय ९७ जनाको मृत्यु भएको छ। यो प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको मुलुकभरको तथ्याङ्क हो।
त्यस्तै काठमाडौं उपत्यकामा मात्र २०७७ देखि २०८० जेठ १० गतेसम्म ६२ जनाको मृत्यु भइ सकेको छ।
काठमाडौंमा २५, भक्तपुरमा २१ र ललितपुर ११ जनाको मृत्यु र ५ जना घाइते भएका हुन्। यसरी ज्यान गुमाउनेमा १ महिनाका बच्चादेखि ८० वर्षका वृद्धसम्म छन्। उपत्यकाबाहिर ज्यान गुमाउनेमा यात्रा गर्दा, नाला तथा खोला तर्दा, पौडी खेल्दा, माछा मार्न जाँदा, बगाउने संख्या धेरै रहेको छ।
२०७७ देखि २०८० सम्म देशभर डुबेर मृत्यु हुनेको तथ्याङ्क
कोशी प्रदेशः ४ सय ५६
मधेष प्रदेशः ४ सय २३
बागमती प्रदेशः ३ सय ३५
गण्डकी प्रदेशः ३ सय ४९
कर्णाली प्रदेशः १ सय ७८
सुदुरपश्चिम प्रदेशः १ सय ८७
लुम्बिनी प्रदेशः ४ सय ५१
