विहीबार, २५ साउन २०८०, दोलखा । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।
गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९÷८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताए। उनले आर्थिक वर्ष ०७७÷७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८÷७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९÷८० मा नाफा घटेको जानकारी दिएका थिए।
निर्देशक घिसिङले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताए। उनले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको उल्लेख गरेका छन।
निर्देशक घिसिङले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताए। उनले प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न गरिएको पनि बताए साथै निर्देशक घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
निर्देशक घिसिङले संस्थाको त्रेडिट रेटिङ आईसिआरए बाट एए प्लस प्राप्त गर्न सफल भएको समेत उल्लेख गर्नु र प्राधिकरणले बजेट र खर्च नियन्त्रणको लागि केन्द्रिकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको बताउनुका साथै विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब बराबरको रकम प्रशारण तथा वितरण प्रणालीमा विस्तार र सुधारमा लगानी गरिएको दाबी गरेका छन। उनले प्राधिकरणले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको पनि जानकारी दिए।
निर्देशक घिसिङले मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सारभुत रुपमा पूर्ण विद्युतीकरण भएका छन् भने कोशी प्रदेशमा ९५ प्रतिशत, लुम्बीनी ९८, कर्णाली ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको दाबी गरे। उनले ७५३ स्थानीय तहहरु मध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ पूर्ण विद्युतीकरण भएका र १ सय २७ वटा स्थानीय तहहरुका अधिकांश स्थानमा र २१ स्थानीय तहहरुका अधिकांश स्थानहरुमा सोलार र साना तथा लघुजल विद्युत मार्फत विद्युतीकरण भएको बताएका थिउ।
निर्देशक घिसिङले आगामी दुई वर्ष भित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणा कार्यान्वयन गर्ने सम्पूर्ण तयारी पूरा गरी काम भइरहेको उल्लेख गरे। उन्ले पछिल्लो दुई वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत करिव २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको बताउ। विगत २ वर्षमा उद्योगहरुको ८०० एमभिए विद्युत लोड स्वीकृत गरिएको घिसिङको भनाई छ।
निर्देशक घिसिङले विद्युत प्राधिकरण भारतमा विद्युत निर्यात १० अर्ब ३५ करोड रुपैयाँ र आयात १९ अर्ब ४५ करोड रुपैयाको गरेको र गत वर्षमा विद्युत निर्यात भन्दा आयात बढी भएको बताएका थिए। उनले नेपालले पहिला पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात शुरु गरी हाल करिव ४५० मेगावाट विद्युत निर्यात भैरहेको बताएका थिए।
निर्देशक घिसिङले भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमति प्रक्रिया रहेको साथै विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी प्रशारण लाइनहरुबाट बिहारको ग्रिड हुँदै भारतको केन्दीय ग्रिड प्रणालीबाट करिब ३०० मेगावाट विद्युत बिक्री गर्ने प.टी.सी. ग्रिड इण्डिया, बिहार स्टेट पावर कर्पोरेशन र प्राविधकरण बीच त्रिपक्षीय सहमति भएको जानकारी दिएका छन।
निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्याप–झ्याप बिजुली जाने गरेको र प्रशारण लाइनमा गडबड भइरहेने भएकाले लाइन जाने आउने समस्या हुन थालेको बताएका छन।
