राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो।

यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो।

परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन् ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।