नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गाको कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार २०७९ साउनको तुलनामा ०८० साउनमा घरजग्गाको कारोबार बढेको हो।
गत वर्षको साउनमा बैंकिंग प्रणालीमा लगानी योग्य पुँजीको चरम अभाव थियो। यो साउनमा बैंकहरुसँग फालाफाल तरलता छ। बैंकहरुले घर कर्जाका आकर्षक स्किमहरु पनि ल्याइरहेका छन्।
यसको प्रभावका साथै करिब २ वर्षदेखि पर्ख र हेरको अवस्थामा रहेकाहरु पनि नयाँ आर्थिक वर्ष लागेसँगै कारोबारमा सक्रिय भएको हुनाले चहलपहल बढेको व्यवसायीहरु बताउँछन्। विभागको तथ्यांकअनुसार यो साउनमा ३९ हजार २६३ घरजग्गाको किनबेच भएको छ। गत आवको साउनमा ३३ हजर ८३४ घरजग्गाको किनबेच भएको थियो। विभागकाअनुसार सबैभन्दा धेरै घरजग्गाको किनबेच भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ।
यहाँबाट २ हजार २५७ घरजग्गाको किनबेच भएको छ। ०८० असारको तुलनामा भने ११. ७३ प्रतिशत कम घरजग्गा किनबेच भएको हो। असारमा ४४ हजार ४८५ घरजग्गाको किनबेच भएको थियो। असारको तुलनामा साउनमा स्वाभाविकरुपमै घरजग्गाको कारोबार कम हुने गर्छ।
