सोमबार, २५ भदौ २०८०, दोलखा। लामो समयदेखि प्रमुख विहीन रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटले बल्ल कार्यालय प्रमुख पाएको छ।

दुई जिल्ला हेर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटले करिब १८ महिनापछि कार्यालय प्रमुख पाएको हो। केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्र बालाजुबाट आएका डाक्टर ज्ञान बहादुर जिरेलले भेटेरिनरी अस्पतालको जिम्मेवारी सम्हालेका छन्। डाक्टर जिरेल भदौ १८ गते कार्यालय हाजिर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटले जनाएको छ। तत्कालिन कार्यालय प्रमुख माधवप्रसाद दहालको सरुवा भएपछि १८ महिनादेखि भेटेरिनरी अस्पताल निमित्त कार्यालय प्रमुख पलट चौधरीको नेतृत्वमा सञ्चालन हुँदै आएको थियोे।

कार्यालय प्रमुख उपसचिबस्तरको दशौँ तहका बरिष्ठ पशु विकास अधिकृत वा बरिष्ठ पशु चिकित्सक हुनुपर्ने व्यवस्था छ। भेटेरिनरी अस्पतालमा १२ जनाको स्थायी दरबन्दी रहेकोमा अझै तीन पद रिक्त रहेको छ। अधिकृत स्तर छैटौँ लाईभस्टकको कर्मचारी, प्रशासन शाखा, लेखा शाखाको पद रिक्त रहेको हो।