बुधबार, ०३ असोज २०८०, दोलखा। न्यूयोर्क। अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक–नागरिक बीचको सम्बन्ध महत्वपूर्ण भएको बताएका छन्। नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एक अर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए।

विदेशमन्त्री व्लिङ्केनले सन्देशमा भने, अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु। आज हामी यस्तो विशेष दिन मनाउँदै छौँ, जसले हामीहरू बीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देश बीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ।

नेपालले हासिल गरेको उपलब्धि र दुई देश बीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु। अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु, विदेशमन्त्री व्लिङ्केनद्वारा जारी सन्देशमा उल्लेख छ।