सोमबार, ०८ असोज २०८०, दोलखा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशन अपानि ११ कार्यान्वयन नहुने भएको छ।
शनिबार बसेको सचिवालय बैठकले उक्त अपानी रोक्ने निर्णय गरेको हो। सो पार्टीका सम्मानित नेता झलनाथ खनालले भदौ ५–७ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि जारी भएको अपानिको कार्यान्वयन रोक्ने निर्णय भएको जानकारी दिए।
अस्ति जारी भएको अपानि कार्यन्वयनमा रोक लगाइएको छ त्यो अपानि कार्यान्वयन हुँदैन। अब पुन परिमार्जन गरेर मात्रै कार्यान्वयनमा जाने अर्को अपानि जारी हुन्छ, नेता खनालले भने, रोक्ने निर्णय भएपछि कार्यान्वयनमा जाने कुरै भएन। उनले के–के विषय परिमार्जन हुने भन्नेबारे भने खुलाएनन्।
अध्यक्ष नेपालले छलफलबिनै अपानि–११ जारी गरेको भन्दै नेताहरुले चर्को असन्तुष्टि जनाउँदै कतिपयले राजीनामा नै दिएका थिए। अध्यक्ष नेपालले २१ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन र धेरै नेताहरुको कार्यविभाजन गरेको अपानि जारी गरेका थिए। तर उक्त अपानिप्रति सम्मानित नेता खनालले समेत आपत्ति जनाएका थिए।
