शुक्रबार, १२ असोज २०८०, दोलखा। दोलखा प्रहरीले लामावगर नाका हुँदै ल्याईएको अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले आज दिउँसो सदरमुकाम चरिकोटवाट दोलखाको बिगु गाउँपालिका–१ लामावगरमा ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र सोही स्थानकी ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना श्रीमान् श्रीमती भएको दोलखा प्रहरीले जनाएको छ। उनीहरुलाई चरिकोटस्थित शुभकामना होटलवाट दिउँसो नियन्त्रणमा लिईएको हो।
अवैध सुन ओसारपसारको गय राति दोलखा प्रहरीले जिल्लाको विगु गाउँपालिका–१ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो। चीनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले सिंगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई ४ किलो सुनसहित पक्राउ गरेको थियो। त्यसपछि उनको बयानको आधारमा राज तामाङ र माधव मगर पक्राउ परेका थिए। पक्राउ परेकाहरु र उनीहरुवाट बरामद भएको ४ किलो सुनसहितको सामानहरु दोलखा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले बरामद भएको सुन जस्तो धातुको तौल ४ किलो भएको र सुन पुष्टि भएमा त्यसको बजार मुल्य ३ करोड ७७ लाख ४७ हजार ८०५ रुपैयाँ हुने जानकारी दिए। उनका अनुसार बरामद भएको सुन लामावगरको फलाक नाकावाट नेपाल भित्रिएको हो। चिनियाँ नागरिकले नुर्वु छिरिङ मार्फत सुन पठाएको र उनले अन्य व्यक्तिलाई ओसारपसारमा संलग्न गराएको डिएसपी खड्काले बताए। बरामद भएको सुन परिक्षणका लागि काठमाडौं पठाईने दोलखा प्रहरीले जनाएको छ।