सोमबार, १५ असोज २०८०, दोलखा। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ।
देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्। अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्याली निकाल्ने तयारी गरेको छ।
एमाले गण्डकीले हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्क गरेर चार स्थानबाट र्याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ। उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ। त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ।
अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि रहने जनाइएको छ। कास्कीबाट १ सय ४६, स्याङ्जाबाट १ सय १३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन्।
यसैबीच एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ। प्यानल बन्ने सम्भावित अवस्थालाई मध्यनजर राखेर नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो। गण्डकीमा पूर्व मुख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ पिएस र खगराज अधिकारी केआरको दुई समूह छ।
