बुधबार, १७ असोज २०८०, दोलखा। दोलखामा बरामद भएको ११ किलो अबैध सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले आज एक चिनियाँ नागरिक सहित तीन जनालाई पक्राउ गरेसँगै गत असोज १० गतेदेखि हालसम्मको अवधिमा पक्राउ पर्नेको संख्या १० पुगेको हो। सिआईबीले आज तासी भन्ने चिनियाँ नागरिक ग्याङ रोउ, लालबहादुर तमाङ र ६५ बर्षीय सनत प्रधानलाई पक्राउ गरेको हो । उनीहरु स्वयम्भूबाट पक्राउ परेका हुन्।

प्रहरीले यसअघि नै ७ जनालाई पक्राउ गरिसकेको छ। सुन प्रकरणमा आईतवार बिगु गाउँपालिका १ का ३० वर्षिय चसमान तमाङ पक्राउ परेका थिए। चसमानलाई प्रहरीले लामाबगरबाट नियन्त्रणमा लिएको थियो। दोलखाबाट भागेर काठमाडौँ पुगेका बिगु गाउँपालिका १ का राज तमाङ शुक्रवार पक्राउ परेका थिए।

दोलखा प्रहरीले गत बुधवार राती ४ किलो अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो। सो समयमा विगु गाउँपालिका–१ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका १९ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगर पक्राउ परेका थिए। उनीहरुको बयानको आधारमा असोज ११ गते दिउँसो सदरमुकाम चरिकोटस्थित एक होटलवाट दोलखाको बिगु गाउँपालिका–१ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ पक्राउ परेका थिए।

चीनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई हिरासतमा राखी आठ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

दोलखा प्रहरीले गत असोज १० गते राती ४ किलो अबैध सुन बरामद गरेको थियो। त्यसको दुई दिनपछि असोज १२ गते ३ किलो बरामद भएकोमा असोज १४ गते थप ४ किलो गरी पाँच दिनको अवधिमा दोलखाबाट ११ किलो अबैध सुन बरामद भएको थियो।