विहीबार, १८ असोज २०८०, दोलखा। नेपालीहरुको महान चाड विजया दशमी र तिहारमा हिमाली जिल्ला दोलखासम्म इलेक्ट्रिक गाडी इभीमा आरामदायी यात्रा गर्न सकिने भएको छ।

पूर्व अरनिको र रोल्वालिङ यातायातले काठमाडौंदेखि दोलखासम्म इभी संचालन गरेपछि विगताका दशैंको तुलनामा यो वर्ष यात्रामा सहज हुने भएको हो।

विगतमा काठमाडौंदेखि दोलखासम्म यात्रुवाहक बस र सुमो मात्रै संचालन हुँदै आएकोमा यो वर्ष इलेक्ट्रिक गाडी पनि संचालन हुने छन्। केही महिना अघिदेखि काठमाडौंवाट दोलखा र जिरीसम्म इभी संचालन सुरु गरेका यातायात संस्थाले दशैं तिहारमा थप इलेक्ट्रिक गाडीको व्यवस्था गर्ने भएका छन्।

पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले समितिले इलेक्ट्रिक गाडीलाई प्राथमिकतामा राखेको र दशैं तिहारमा नयाँ इलेक्ट्रिक भ्यानहरु थपिने जानकारी दिएका छन्।