बुधबार, २० मङ्सिर २०८०, दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नु पर्ने बताए। उनले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गरे। उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नु पर्ने बताए।
सभापति लामिछानेले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए। उनले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत् अनुसन्धान गर्नु पर्ने पनि बताए। उनले एनसेल खरिद बिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए।
रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ। रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरुलाई आज शपथ ग्रहण समेत गराएको छ।
