सोमबार १४ श्रावण २०८१, दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका ६ की बृद्धा महिलाको हत्या पैसा लुट्ने मनसायले भएको पुष्टि भएको छ।

स्थानीय एक युवकले पैसा लुट्ने मनसायले बृद्धा महिलाको हत्या गरेको दोलखा प्रहरीले बताएको छ। चार दिन अघि आफ्नै घरमा मृत फेला परेकी कालिञ्चोक गाउँपालिका ६ पाटागाउँकी ७५ बर्षिया पदमकुमारी सुनुवारको हत्या अभियोगमा प्रहरीले कालिञ्चोक गाउँपालिका ४ का २३ वर्षिय बिक्रम कार्कीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनलाई दोलखा प्रहरीले साउन ११ गते पक्राउ गरेको थियो।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी युवराज खड्काले बृद्धा महिलाको घरमा राती बास मागेर बसेका कार्कीले पैसा लुट्ने मनशायका साथ टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्यापछि फरार रहेका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको थियो।

वैदेशिक रोजगारीमा दुबई जानको लागि परीक्षा दिई काठमाण्डौबाट घर फर्कने क्रममा ती युवक मृतक सुनुवारको घरमा पुगि बास बस्नका लागि अनुरोध गरेका थिए। वृद्धाले कार्कीलाई छुट्टै भान्सा कोठामा ओछ्यान लगाई आफु अर्कै कोठामा गएर सुतेकी थिईन्। कार्कीले राती आफु सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।