बिहीबार, ३१ साउन २०८१, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ।
मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सीटियम अफ कलेज र जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो। कश्यपको समकक्षता सम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ।
यस्तै, ग्लोबल कलेजको सम्बन्धमा हालको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी गर्न नमिल्ने भएको हो। नेपाल एजुकेसन फाउन्डेसनको हकमा स्थानान्तरणको प्रक्रियामा रहेकोले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल ५६ वटा कलेजमा मात्रै भर्ना आह्वान गरेको छ।
मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गर्दै ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरेको छ।
