मङ्गलबार, ०८ असोज २०८१, काठमाडौँ। अमेरिका। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्केर रोजगारीका अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका पुगेका ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा सम्बोधन गर्दै नेपालमा साना उद्योग र ‘स्टार्टअप’ कार्यक्रमहरूको माध्यमबाट रोजगारीका अवसरहरू सिर्जना भइरहेको जानकारी दिए।
ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अघि सार्दै नेपालमा गरिबी निवारण र आर्थिक विकासका लागि ठोस योजना रहेको बताए। उनले विदेश गएका नेपाली विद्यार्थी र युवाहरूको संख्या बढेको भए पनि स्वदेश फर्कने क्रम पनि उल्लेख्य भएको बताए। नेपालमा लोकतन्त्र मजबुत भएको र छिमेकी शक्तिराष्ट्रहरू भारत र चीनको नजिक हुँदा नेपाललाई बहुआयामिक अर्थतन्त्रको रूपमा विकास गर्न सकिने उनले बताए।
ओलीले सुशासन र पारदर्शिताको महत्वमा जोड दिँदै नेपालको समृद्धि यात्रामा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। युएसआइडी र युनिसेफद्वारा आयोजित लिडमुक्त अभियानमा पनि सहभागिता जनाउँदै उनले नेपालले बालबालिकाको स्वास्थ्य र खाद्य सुरक्षामा सुधार गर्न महत्वपूर्ण कदम चालेको उल्लेख गरे।
