
काठमाडौं, वैशाख ८
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।
मंगलबारका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यले नयाँ उचाइ लिने क्रम जारी रहँदा आजको बढोत्तरीले उपभोक्तालाई थप दबाब दिएको छ ।
सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने गिरावट आएको छ । सोमबारको तुलनामा चाँदी तोलामा ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबारको तुलनामा भने चाँदी अझै पनि महँगो नै रहेको महासंघको तथ्यांकले देखाउँछ ।
