काठमाडौं, वैशाख २७

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार कुनै प्राविधिक समस्या नआएमा अबको चार दिनभित्र अर्थात् वैशाख महिनाभित्रै नतिजा सार्वजनिक हुनेछ। परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

‘कुनै प्राविधिक जटिलता नआएमा यो महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ,’ उनले भने।

नतिजा हेर्ने माध्यमहरू परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकका लागि नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ। यस पटक नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा निम्न माध्यमबाट हेर्न सकिनेछ।

एसएमएस (SMS) र आईभीआर (IVR)विभिन्न आधिकारिक वेबसाइटहरू सहयोगी संस्थाहरू: नतिजा प्रकाशनका लागि लक्ष्मी सनराइज बैंक, टाटा, फ्युचर्स सफ्ट लगायतका निकायहरूसँग समन्वय गरिएको छ। परीक्षार्थी विवरणगत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट उल्लेख्य संख्यामा परीक्षार्थीहरू सहभागी भएका थिए।

गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षार्थी छन्। जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो।