Air

काठमाडौं । साउन १८

सरकारले आन्तरिक हवाई यात्रालाई थप सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अघि बढाएको छ ।

प्रस्तावित विधेयकअनुसार दुर्घटनामा परी यात्रुको मृत्यु भएमा वायुसेवा कम्पनीले १ लाख अमेरिकी डलर क्षतिपूर्ति र शव हस्तान्तरण गर्दा तत्काल ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्नेछ भने घाइते वा अङ्गभङ्ग भएको अवस्थामा सम्पूर्ण उपचार खर्चसहित १ लाख डलरसम्मको क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।

त्यसैगरी, यात्रुको सामान (व्यागेज) हराएमा वा क्षति पुगेमा प्रति किलोग्राम २० डलरका दरले बढीमा ५०० डलरसम्म र कार्गोको हकमा घोषित मूल्य वा प्रति किलो १० डलर क्षतिपूर्ति दिनुपर्ने प्रावधान राखिएको छ ।

तर खराब मौसम, दैवी प्रकोप, यात्रुको गम्भीर लापरवाही वा पूर्व रोग तथा गलत प्याकिङ वा कागजातमा त्रुटि भएमा भने वायुसेवा कम्पनी क्षतिपूर्तिको दायित्वबाट मुक्त हुनेछन् ।

पारित भएपछि लागू हुने यो कानुनले आन्तरिक हवाई यात्रुहरूलाई अन्तर्राष्ट्रिय मापदण्डसरह बलियो कानुनी संरक्षण प्रदान गर्नेछ ।