सोमबार, २२ साउन २०८०, दोलखा । नेपालीहरूले वैदेशिक रोजगारीका लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन्। खाडी मुलुक केन्द्रित हुँदै आएको पछिल्ला वर्षहरूमा भने युरोपतिर ध्यान जान थालेको देखिन्छ।
वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा खाडी मुलुकसँग युरोपका विभिन्न मुलुकमा समेत नेपाली श्रमिकहरूको संख्या बढ्दो क्रममा छ।
आर्थिक वर्ष २०७९÷०८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा लगायतका देशमा जाने नेपालीहरूको संख्या बढेको देखिन्छ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा युरोपेली देशमध्ये सबैभन्दा बढी रोमानिया पुगेका छन्। जहाँ १ हजार ७७३ जना महिला सहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा रोमानियाका लागि ७ हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए।
त्यस्तै क्रोएसियाका लागि ७ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ५ हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए।
त्यस्तै साइप्रस जानका लागि गत आर्थिक वर्षमा ५ हजार ३१७ जनाले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०७८÷०७९ मा ४ हजार १८१ जना नेपाली साइप्रसका लागि श्रम स्वीकृति लिएका थिए। साइप्रसका लागि ४ हजार ३४६ महिलाले श्रम स्वीकृति लिएका थिए।
त्यस्तै पोल्याण्डमा समेत ५ हजार ११२ जनाले श्रम स्वीकृति लिएको देखिन्छ। जबकि अघिल्लो वर्ष पोल्याण्डका लागि १ हजार ८५५ जनाले मात्र श्रम स्वीकृति लिएका थिए।
त्यस्तै माल्टाका लागि समेत ६ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ९१५ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएका थिए।
त्यस्तै बेलायतका लागि २ हजार २६४ जना, सर्बिया ९६२ जनाले श्रम स्वीकृति लिएका छन्। पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ। गत आर्थिक वर्षमा ६४ जना महिलासहित ७३२ जनाले श्रम स्वीकृति लिएका थिए।
अघिल्लो आर्थिक वर्षमा भने जम्मा ७९ जनाले पोर्चुगलका लागि श्रम स्वीकृति लिएका थिए।
