काठमाडौंमा सुरू भयो तीज मेला


अनलाईन बुलेटिन संवाददाता

त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरु भएको छ।

नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी हुन्।

मेला उद्घाटन गर्दै गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यशीलता गर्न चाहने महिलालाई सहयोग गर्ने विश्वास व्यक्त गरिन्। वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले ए एस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो।

भदौ ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म ५ दिन चल्नेछ। मेलामा १०० भन्दा बढी स्टल रहेका छन्। तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले बताइन्। विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको ए एस इभेन्ट्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए।

बजारको तुलामा एकै छानामुनी धेरै किसिमका सामान सस्तो मूल्य खरिद गर्न सकिने भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे। नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छज्। मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिने श्रेष्ठले बताए। विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाई छ।

ट्रेड सेन्टरमा रहेका रेस्टुरेण्टहरुमा अवलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रहरुमा भारी छुटको व्यवस्था गरिएको डिएसीसीले जनाएको छ। डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

अवलोकनकर्तालाई फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गरिएको हो। हरेक वर्ष तीजको पुर्व सन्ध्यामा तीज मेला आयोजना हुँदै आएको छ।

सम्बन्धित खबर