आइतबार, १० भदौ २०८०, दोलखा । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरको बारेमा यति बेला दोलखालीको चासो बढेको छ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरको आवेदन खुल्ला गरेपछि दोलखालीमा चासो बढेको हो। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरी विक्री गरेको केही वर्ष वितिसके पनि हालसम्म लाभांश नपाएका बेला सोही कम्पनीको हकप्रद शेयर भर्नेकी नभर्ने, भोलीका दिनमा शेयर मुल्य र मुनाफा कस्तो रहला, भन्ने बिषयमा दोलखालीमा अन्यौलता, उत्सुकता, चिन्ता र चासो बढेको छ। गत बिहिबार मात्रै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ जलबिद्युत आयोजना निर्माणका लागि हकप्रद शेयरको आवेदन खुल्ला गरेको छ।
कस्तो छ, माथिल्लो तामाकोशीको अवस्था
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरन्तर घाटामा रहेको छ। स्वदेशी लगानीमा निर्मित जलविद्युत आयोजनाले पछिल्लो दुई वर्ष यता विद्युत उत्पादन गरी विक्री गरिरहे पनि घाटा वर्षेनी वृद्धि हुँदै गएको छ। माथिल्लो तामाकोशीले गत आर्थिक वर्षमा मात्रै ८ अर्बको विजुली विक्री गरेको छ। ८ अर्बको विजुली विक्रि हुँदा माथिल्लो तामाकोशीले ऋणको ब्याजमात्रै ७ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी गरेको छ। विजुली उत्पादन निरन्तर हुँदा अपर तामाकोशी हाइड्रो पावर कम्पनीको आम्दानी देखिए पनि नोक्सानी अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा वृद्धि भएको छ। कम्पनी असार मसान्तसम्म ३ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको छ। जवकी अघिल्लो वर्ष २ अर्ब ३१ करोड रुपैयाँ मात्रै घाटामा थियो।
माथिल्लो तामाकोशीले हालसम्म १५ अर्ब २३ करोडको विजुली उत्पादन गरेर विक्री गरेको छ। अघिल्लो आर्थिक वर्ष ७ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गतआर्थिक वर्ष करिब एक अर्ब बढी आम्दानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। गत आर्थिक वर्ष ८ अर्ब १२ करोड रुपैयाँको बिजुली विक्री भएको हो। जुन अघिल्लो आर्थिक वर्षभन्दा १४ दशमलव २१ प्रतिशतले बढी हो। समग्रमा हेर्दा कम्पनीले राम्रो आम्दानी गरेको देखिन्छ। माथिल्लो तामाकोशीको ७३ अर्ब १५ करोड दीर्घकालीन र ६ अर्ब अल्पकालीन कर्जा तथा ४ अर्ब ६५ लाख दायित्व रहेको छ। यो गत असार मसान्तसम्मको विवरण हो। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा अनुमान भन्दा साढे ३७ अर्ब रुपैयाँ बढी करिब ८६ अर्ब खर्च भएको थियो।
पछिल्लो समय कम्पनीको शेयर पनि ह्वातै घटेको छ। पछिल्लो ५२ हप्तामा माथिल्लो तामाकोशीको शेयर न्यूनतम २१५ र अधिकतम ५९० रुपैयाँमा कारोवार भएको छ। यसअघि प्रति शेयर मुल्य ९५० सम्म कायम रहेको शेयरको मुल्य पछिल्लो समय ह्वात्तै घटेको हो। कम्पनी अझै घाटामा रहकोले शेयरधनीहरुले लाभांशको लागि अझै केही वर्ष कुर्नुपर्ने हुन्छ। तत्कालीन अवस्थामा लगानी कर्ताहरुले लाभांश पाउने सम्भावना छैन।
रोल्वालिङ खोलाका लागि हकप्रद शेयर
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखामा रहेको २२ मेगावाटको रोल्वालिङ खोला जल विद्युत आयोजना निर्माण गर्न कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद विक्र गर्न खोजेको हो। कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रहेको छ। सोही बराबरको प्रति शेयर रकम १०० अंकित दरले १० करोड ५९ लाख कित्ता साधारण शेयरको हकप्रद बिक्री खुला गरिएको हो। कम्पनीले सूचना जारी गर्दै १ः१ को अनुपात अर्थात विद्यमान १ कित्ता साधारण शेयरका दरले शेयर धनीका लागि आगामी भदौ १८ गतेदेखि असोज ७ गते सम्म आवेदन खुल्ला गरेको जनाएको छ। कम्पनी ऋणमा रहेको र लाभाशं प्राप्त गर्न अझै केही वर्ष कुर्नु पर्ने भए पनि प्रति शेयर १०० का दरले हकप्रद शेयर खरिद गर्न पाउनु दोलखालीका लागि अवसर नैं हो। किनकी अपर तामाकोशीको शेयर मार्केटको अहिलेको मुल्य यसको दोव्वर भन्दा बढी छ।
यसरी गर्न सकिन्छ आवेदन
हकप्रद शेयर लगानी गर्न चाहने दोलखालीहरुले भदौ १८ गतेदेखि असोज ७ गते सम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषिविकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्रबोर्डबाट अनुमतिलिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदनदिन सकिनेछ।
कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलबिद्युत आयोजनाका लागि माथिल्लो तामाकोशीमा शेयर लगानी गरेका साविककै लगानीकर्ताहरुबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम संकलन गरी बित्तीय व्यवस्थापन गर्न लागेको हो।
