
सार्वजनिक यातायातमा हिड्न खासै मन लाग्दैन। तर पनि प्रायजसो सार्वजनिक गाडीमा चढेरै हरेक दिनको सुरूवात हुन्छ। क्याम्पस जान र घर फर्कन यिनै गाडीमा यात्रा नगरी नहुने।
कलंकीदेखि रत्नपार्क रूट दिनमा दुईपटक आवतजावत गर्नैपर्छ। प्राय हरेक दिन गाडीमा खचाखच यात्रु। बस्नलाई सीट खाली भेट्नै मुस्किल। धेरैजसो त उभिएर नै गन्तव्य पुगिन्छ। बल्लतल्ल सिट पाइहाले पनि मन नपरेको सिट।
कलंकीबाट १० बजे हरेक दिन सार्वजनिक यातायातसँगको यात्रा सुरू हुन्छ।
सहचालकले चिच्याउन थाल्छन्, कलंकी, कालिमाटी, सुन्धारा, एनएसी, रत्नपार्क।
फेरि थप्छन्, जानी हो दाइ, दिदी, आन्टी, अंकल।
ल..ल.. दुइ लाइन भएर पछाडि जानुस्।
कोही सहजै मिलेर बस्छन्। कोही भने वरपर सर्नै नमान्ने। केही भनिहाल्यो भने पनि उल्टै जवाफ फर्काउने। सायद सार्वजनिक यातायातमा यात्रा गर्ने धेरैजसोले यो पीडा भोग्नु भएकै होला। यति मात्र होइन्, बस चढेदेखि नओर्लेसम्म कहिलेकाहीँ त यात्रुकै भनाभन पर्छ।
कहिले महिला सीटमा पुरूष बसेर झगडा सुरू हुन्छ। फेरि कहिले जेष्ठ नागरिक सीटमा वयस्कहरू बसेर। पढेलेखेका बुझ्नेहरू नै चुपचाप बसिदिन्छन्। बोल्नुपर्ने ठाउँमा कोही बोल्दैनन्। आखिर नियम त सबैले पालना गर्नुपर्ने होइन् र?
यी त केही उदाहरण हुन्। तर सार्वजनिक यातायातमा वर्षौदेखि महिलाहरूले हिंसा भोगिरहेका छन्, शिकार बनिरहेका छन्।
सार्वजनिक यातायातमा एउटा बसमा कम्तीमा २५/३० जना यात्रु सवार हुन्छन्। माइक्रोकै कुरा गर्ने हो भने पनि ८ देखि १५ जनासम्म सवार हुन्छ। यही जमातमा पनि हरेक दिन कुनै न कुनै महिला हिंसाका शिकार बनिरहेका छन्।
पुरूषहरूले गाडीमा उभिईरहेकी महिलामाथि एक न एक पुरूषले कुदृष्टी लगाइरहेको हुन्छन्। गाडीमा उभिएर यात्रा गरिरहेकै बेलाे धेरै महिलाको संवेदनशील अंगमा छुन खोजेकै आधारमा पनि झगडा र भनाभन भइरहन्छ। यस्ता घटना त बारम्बार भइरहन्छन्। सार्वजनिक यातायातभित्रै हरेक दिन महिलाहरू हिंसाका शिकार भइरेहका छन्।
प्राय हरेक बिहान गाडीमा यात्रा गर्दा यस्तै घटना देखिन्छ र सुनिन्छ। क्याम्पस पुगेर कहिलेकही यहि विषयमा बहस पनि हुन्छ।
‘सार्वजनिक यातायातमा महिलालाई कति सुरक्षित देख्नुहुन्छ?’ केटा साथीलाई मैले एकदिन सोधेकी थिएँ।
जवाफमा उनले भनेका थिए, ‘कहिलेकाही गाडी ब्रेक लगाउँदा वा खाल्डा खुल्डीमा पर्दा छेउमा महिला छन् भने छोइन्छ कि भन्ने डरले मनमा खिल गाढेर बसेको छ। अहिले जमाना खराब छ। गाडीमा झुकिएर छोइहालियो भने पनि माफी माग्दा कतिपयले नबुझिदिँदा गाली खाइन्छ। हुन त सबै पुरुषहरूको सोच सही हुन्छ भन्ने पनि छैन।’
केही नकारात्मक सोच, दृष्टि र मनस्थिति भएका पुरुषहरूको कारणले समाजका अन्य राम्रा व्यक्तिहरूमाथि पनि यस्ता आरोप लाग्ने गरेको उनीहरूले गुनासो गरे। सबै पुरूषहरू एउटै नियतका पनि नहुने रहेछन्। सार्वजनिक यातायातमा आवतजावत गर्दा होशियारपूर्वक याता गरिरहेका छन्।
