मंगलबार, ३० साउन २०८०, दोलखा । वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो। गत आर्थिक वर्षमा मात्र खोरेतको छ लाख २८ हजार छ सय १५ डोज, चरचरे र भ्यागुतेको तीन लाख ९६ हजार ५०, क्लासिकल स्वाइन फिभरको ८० हजार एक सय ३८, पिपिआरको ११ लाख ८४ हजार ६० र रेबिजको ४२ हजार दुई सय ८० डोज खोज लगाइएको मन्त्रालयले प्रष्ट पारेको छ।
पूर्णखोप कार्यक्रमका लागि गत आवमा रु १३ करोड ७४ लाख खर्च भएको डा न्यौपानेले बताए। “यस वर्ष पनि पूर्णखोप कार्यक्रमले निरन्तरता पाउँछ, विभिन्न रोगव्याधिका कारण हुने पशुधनको क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो”, न्यौपानेले भने, “प्रदेशका सबै पशुपालक किसानको घरगोठमा खोप सेवा पुर्याउने लक्ष्य मन्त्रालयको छ।”
अहिले गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका विरुद्ध पनि खोप अभियान सञ्चालन भइरहेको छ। प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको मन्त्रालयले जनाएको छ। गाईभैँसीका फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो।
