शनिबार, ०५ फागुन २०८०, दोलखा। करिब ३३ लाख चोरी भएको दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपानेले आत्महत्या गरेका छन्।

मेलुङ–१ पवटी स्थायी घर भएका न्यौपानेले आज विहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन्। आत्महत्या गर्नु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सहकारी चोरीको घटनामा आफुलाई फसाउन खोजिएको बताएका छन्। उनले सहकारी चोरीको घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्दै कुनै पनि सामाजिक अपराध नगरेको दावी गरेका छन्।

न्यौपानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा सहकारी चोरी घटनामा सञ्चालक र कर्मचारीको मिलेमतो रहेको भन्दै केही व्यक्तिहरुको नाम समेत उल्लेख गरेका छन्। सो चोरीको घटना राम्रोसँग छानविन गर्नुपर्ने उनको भनाई छ। न्यौपानेले सहकारीबाट आफुले लिएको ऋणको विवरण पनि उल्लेख गरेका छन्। गत माघ १५ गते सुर्योदय सहकारी संस्थाको कार्यालयमा रहेको भल्टबाट ३२ लाख ८५ हजार रुपैंया चोरी भएको थियो। सहकारीको कार्यालय न्यौपानेको घरमा राखिएको थियो। चोरीको घटनापछि प्रहरीले सहकारीका व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गरेको थियो।

यो अवधिमा दोलखा प्रहरीले न्यौपानेलाई पटक–पटक नियन्त्रणमा लिने र सोधपुछ गरी छाड्ने गरिएको थियो। केही दिन अघि जिल्ला प्रहरी कार्यालय झिकाइएका न्यौपाने विहिबार मात्रै घर फर्किएका थिए। त्यसलगत्तै आज विहान लामो स्टाटस लेख्दै न्यौपानेले आत्महत्या गरेका हुन्। उनी पवटीस्थित पुर्खोली घरमा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।

न्यौपाने हालै सम्पन्न नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए।