साउन २४, दोलखा । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका निम्ति दल दर्ता गरेको छ। निर्वाचन आयोगमा पुगेर एमालेले १० औं नम्बरमा दल दर्ता गराएको हो।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र लिएर दल दर्ताका निम्ति महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता कृष्णगोपाल श्रेष्ठलगायत आयोग पुगेका थिए।
दल दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव ज्ञवालीले चुनावमा आफ्नो पार्टीलाई कुनै गठबन्धनको आवश्यकता नरहेको बताए।
एमाले अझै बलियो रहेको जिकिर गर्दै उनले भने, ‘कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने हो। गठबन्धन सामर्थ्यको प्रतीक होइन। बलियोलाई वैशाखीको आवश्यकता पर्दैन।’
विचारमा मिश्रित शक्तिबीच सहकार्य गरेर सत्ता गठबन्धनले विचारको स्वस्थकर प्रतिस्पर्धालाई रोकेको ज्ञवालीको टिप्पणी छ।
‘उदार कांग्रेस, उग्र माओवादी, क्षेत्रीय दल र संघीयताविरोधी राष्ट्रिय जनमोर्चाको गठबन्धनले विचारको स्वतन्त्र छनोट गर्न पाउने जनताको अधिकारमा अवरोध पुर्याएको छ। यस्तो गठबन्धनले लोकतन्त्रको दीर्घकालीन हित गर्दैन,’ ज्ञवालीले भने।
प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा एमालेको नेतृत्व स्थापित गर्ने विश्वास रहेको ज्ञवालीले बताएका छन्।
© 2025, Online Bulletin