
काठमाडौँ । विश्वभरका चर्चित र भव्य लक्जरी होटलहरूलाई पछि पार्दै मुस्ताङमा रहेको ‘शिन्ता मणि मुस्ताङ’ विश्वकै नम्बर–१ लक्जरी होटल बन्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित रोब रिपोर्टले सार्वजनिक गरेको ‘द ५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ को सूचीमा शिन्ता मणिले यो ऐतिहासिक सफलता हासिल गरेको हो ।
विश्वका २४ जना दिग्गज लक्जरी यात्रा विशेषज्ञहरूको मूल्याङ्कनका आधारमा पहिलो स्थान हात पारेको यस रिसोर्टलाई शेर्पा हस्पिटालिटी ग्रुपले सन् २०२३ देखि सञ्चालन गर्दै आएको छ ।
यसअघि सन् २०२४ र २०२५ मा पनि विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको यस रिसोर्टको पछिल्लो उपलब्धिले नेपाललाई साहसिक पर्यटनका साथै उच्चस्तरीय लक्जरी गन्तव्यका रूपमा समेत विश्वभर स्थापित गरेको छ ।
ग्रुपका सीईओ नाम्ग्याल शेर्पाका अनुसार नेपालको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य र दिगो आतिथ्य सेवाका कारण प्राप्त यो सम्मान समग्र नेपाली पर्यटन क्षेत्रकै लागि एउटा ठूलो कोसेढुङ्गा हो ।
