३२ जेष्ठ २०८०, विहिबार,
दोलखा । उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरिएको हो ।

समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको जानकारी दिएका छन। उनले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेको बताएका छन ।

उनले यस समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको र समितिले उद्योगी व्यवसायीहरु सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्य देश दिएको बताएका छन ।

बैठकमा समिति सदस्य कृष्णकुमार श्रेष्ठले उखुकिसानहरुलाई धेरै समस्या रहेको जानकारी दिएका छन। उनले उखुकिसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए साथै मेलेसिया लगायतका देशमा जान फ्रि भिसा फ्रि टिकटको कानुन नेपालले मात्रै बनाएर नहुने बताएका हुन ।

त्यस्तै, सांसद वीरेन्द्रबहादुर शाहीले नेपाल आयल निगम कुन अवस्थामा रहेको भन्ने बारेमा समितिले अध्ययन गर्न आवश्यक रहेको र सरकारले पेट्रोलियमको मूल्य लोकप्रियताको लागि तत्काल धेरै घटाउने अवस्था रहेको जानकारी दिएका छन ।