जेठ महिनामा डेढ लाख केबलकारमार्फत मनकामना मन्दिर दर्शन गरेका छन्।

चालु आर्थिक वर्षको जेठ महिनामा १ लाख ५० हजार यात्रुले केबलकारमार्फत मन्दिरको दर्शन गरेका हुन्। २५ वर्षको इतिहासमा यो सङ्ख्या मासिक यात्रा गर्ने यात्रुको नयाँ रेकर्ड भएको मनकामना दर्शन प्रालिले जनाएको छ।

यसअघि आर्थिक वर्ष २०७५–७६ मा ज्येष्ठ महिनामा १ लाख ३५ हजार २७२ मासिक रेकर्ड बनेको थियो। यस्तै कम्पनीका अनुसार यस आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल १० लाख २१ हजार २३९ यात्रीले केबलकारको सेवा लिएका छन्।

कम्पनीका अनुसार मनकामना जाने भारतीय यात्रीहरूको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। यस आर्थिक वर्षको ११ महिनामा कुल २ लाख ६९ हजार ७६० जना भारतीयहरूले मनकामना भ्रमण गरेका छन्। मनकामनाको दर्शन गर्न पुग्ने पहिलो नम्बरमा नेपाली नागरिक ७ लाख ५ हजार ५९३ जना छन्।

कम्पनीले यस आर्थिक वर्षमा केबलकारमार्फत मनकामना मन्दिर जाने यात्रीको सङ्ख्या करिब सङ्ख्या ११ लाख ५० पुग्ने अनुमान गरेको छ।