
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।
बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
चीनबाट उडेको एयरलाइन्स राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो। विमानले पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी बोकेको थियो।
अध्यक्ष तिमिल्सिनासहित सात जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए। फर्कँदा उनीहरू यही विमानमा आएका हुन्।
अंग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको थिएन। यो जहाज करिब दुई घन्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ।
