काठमाडौंको कमलादीमा बनेको ‘स्काइ वाक टावर’ यही शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।
वन्डर्स नेपालले २ अर्ब लगानी गरेर सञ्चालमा ल्याएको स्काइ वाकमा सर्वसाधारणलाई खुला गर्नका लागि सबै तयारी पुरा भएको वन्डर्स नेपालका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताए।
कुल १३ रोपनीमा निर्माण भएको टावर ७८ दशमलव ५ मिटर अग्लो रहेको छ, जुन सुन्धाराको धरहरा भन्दा १६ मिटर अग्लो हो। २५ तल्ला रहेको टावरमा २२ तल्लासम्म लिफ्ट चडेर र बाँकी तीन तल्ला सिंढीमार्फत माथि जानुपर्ने हुन्छ।
दुई वटा लिफ्ट सुविधा भएको टावरमा एकचोटीमा ४५ जना भन्दा धेरै मान्छे तलमाथि गर्न सक्ने क्षमता छ।
२५ औँ तलमा रहेको स्काइ वाकको क्षेत्रफल झण्डै एक रोपनी रहेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए। त्यहाँ एकैपटकमा ५ सय मान्छे अट्ने अनुमान कम्पनीले गरेको छ। एकपटक त्यहाँ पुग्नेले आधा घण्टाको हाराहारीमा वरिपरि घुमेर काठमाडौं उपत्यकाको रोमाञ्चक दृश्यावलोकन गर्न पाउँछन्।
त्यसका लागि सर्वसाधरणलाई १ हजार शुल्क निर्धारण गरेको कम्पनीले जनाएको छ। तर, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइ सम्मको बच्चालाई कुनै पनि शुल्क लाग्दैन। ७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट रहेको छ। सिसामाथि हिँड्न कम्पनीले ‘शु कभर’ प्रदान गर्ने छ। तर, त्यहाँ प्रवेश गर्नुअघि सुरक्षा जाँचपास गर्नु अनिवार्य हुनेछ।
स्काइ वाक गर्ने सिसा पूर्णरुपमा सुरक्षित रहेको श्रेष्ठको दाबी छ। ‘यो ब्रिटिस स्ट्याण्डर्डको सिसा हो, यसमा १० एमएमको ३ वटा तह गरी ३० एमएम मोटो सिसा छ, त्यसलाई जोड्ने डेढ एमएमको दुई वटा सिसासमेत थपेर कुल ३३ एमको बाक्लो सिसा रहेको छ,’ श्रेष्ठले भने।
उनका अनुसार यो उत्पादक कम्पनीले पनि यसको सुरक्षाको परीक्षण गरिसकेको छ। यो स्काइ वाक निर्माण गर्दा जमिनको सतहबाट ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरु गाडेर बलियो बनाएको श्रेष्ठले बताए।
एडभेन्चर स्पोर्टस्, टुरिजम र रेष्टुरेन्टसहितका सुविधा भएको यति ठूलो स्काइ वाक दक्षिण एसियामै पहिलोचोटी सञ्चालनमा आएको दाबी वन्डर्स नेपालका प्रबन्ध निर्देशक श्रेष्ठले गरे।
टावरको २३ औं र २४ औं तलामा रेष्टुरेन्ट छ, जहाँ एकैपटक ३ सय मान्छेले सेवा लिन सक्छन्। स्काइ–वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र रेष्टुरेन्टको सुविधा रहेको छ, जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रमसमेत हुनेछ।
कम्पाउण्डमा भएका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन, स्काइ वाकमा जान मात्रै शुल्क लाग्नेछ।
कम्पनीका अनुसार एक सयवटा चारपाङ्ग्रे गाडी र करिब ३ सय वटा मोटरसाईकल पार्किङको सुविधा रहेको छ। स्काइ टावरको क्षेत्रमा ३६ वटा सटर निर्माण भइरहेको छ।
सुरूवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै स्काइ वाक सञ्चालन हुनेछ। तर पछि गएर टावर दैनिक २० घण्टा सञ्चालन गर्नै योजना रहेको श्रेष्ठले बताए। ‘हामी बिस्तारै बिहान सूर्योदय हुँदा योग गर्नेदेखि रात्रिकालीन कार्यक्रमसम्म सञ्चालन गर्ने योजनामा छौं, अहिलेको समयलाई बढाउँदै लानेछौं,’ श्रेष्ठले बताए।
वन्डर्स नेपालले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ। त्यस्तै, धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी भइरहेको छ । कम्पनीले साहिसक पर्यटनका क्षेत्रमा थप लगानी गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले बताए।
© 2025, Online Bulletin