काठमाडौं महानगरपालिका मेयर बालेन शाहले संस्थागत तथा निजि विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलव दिन निर्देशन दिएका छन्।

उनले काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन सम्पूर्ण संस्थागत विद्यालयहरूलाई निर्देशन दिएका हुन्।

‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको मेयर शाहले स्मरण गराएका छन्। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको उनले स्मरण गराएका छन्।

मेयर शाहले तलव स्केल नै सार्वजनिक गर्दै निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्।