सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ। यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।
त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ पर्नेछ। निगमले हवाई इन्धन (आन्तरिक) मा लिटरको १४ रूपैयाँ कम गर्दै १३६ रूपैयाँ मूल्य तोकेको छ। बाह्यमा पनि प्रतिकिलोलिटर ११५ अमेरिकी डलर (करिब १५ रूपैयाँ प्रतिलिटर) कम गरेको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगम सञ्चालक समितिले नयाँ भाउ तोकेको हो। हालै आइओसीले ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर पठाएको थियो।
तर निगमले ग्यासको भाउ कम नगरी यथावत अर्थात प्रतिसिलिन्डर १८ सय रूपैयाँ नै राखेको छ।
© 2025, Online Bulletin