घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब साढे ६ लाख बढीको आवेदन परेको छ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ बजेसम्ममा ६ लाख ७३ हजार ८३९ जना आवेदकबाट ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको २ करोड ५४ लाख २० हजार ३२० कित्ता शेयरको लागि आवेदन परेको हो।
यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको ३.६७ गुणा बढी हुन आउँछ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ।
यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिशेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई पनि शेयर वितरण गरिसकेको छ।
सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता शेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता शेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता शेयर बाँडफाँड गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता शेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार सबै आवेदकले न्युनतम १० देखि २० कित्ता सम्म शेयर पाउने देखिएको छ।
