हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो। यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरू मनाइन्छ। दहि, मासु, खिचडी, सेल, घ्यु, चाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ।

यी सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन्। त्यसैगरी प्रत्येक वर्ष साउन १५ गते खिर खाएर चाड मनाउने गरिन्छ।

पुर्खाहरूले हाम्रो देशमा यसरी नै िजोगाइ राखेका छन्। यो हाम्रो लागि ठूलो उपलब्धि हो। यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा धेरै ठूलो टेवा पुग्दछ। हाम्रो देशको संस्कृति भनेको विश्वको नमुना हो। यस्तो संस्कृति कतै पनि छैन्। तर अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई भएको छ। यसमा आमजनताको चासो रहन अत्यन्तै आवश्यक छ।

साउन १५ गतेलाई देशैभर खीर खाने दिनको रुपमा चिनिन्छ।

प्राचिन कालदेखि नै खीरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ। आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ। साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता छ।

साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खीर खाने चलन छ। खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ। वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्छ। त्यसैले रोग नलागोस् र संक्रमण नहोस् , थकान नलागोस् , फुर्ति बढोस् आदि भनेर पनि खीर खाने गरेको पाइन्छ।

साउन गर्मी महिना भएको कारण पहिला/पहिला शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यी यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दुध र दुधजन्य पदार्थको बढि नै सेवन गर्छन्।

पहिले गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरिरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको मानिन्छ। यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने देखिन्छ।

यी सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरूले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको बुझ्न सकिन्छ। अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने सक्ने गरि कम्तिमा वर्षको एकदिन भए पनि खानु पर्ने गरि चाडपर्वको व्यवस्था भएको देखिन्छ। बैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ। यस अर्थमा पनि हाम्रा पूर्खाहरू अत्यन्तै बुद्धिमान मान्न सकिन्छ।

आजभोली सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएता पनि त्यसको सहि उपभोग भएको पाइन्न। यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ। त्यस कारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएकोे देखिन्छ।

आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्। स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खीर खाने चलन बढेको छ। यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ।

दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडिदेखि नै दुध भण्डारण गरि राख्ने र नपुगेमा धुलो दुध मिसाएर बजारमा लाने गर्छन्। यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भब्य रुपमा मनाउँदछौं।

हामी सबै मिलेर सबै किसिमका चाडपर्वको संरक्षण गरि हाम्रा भावी पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ। यसले हाम्रो देशको पहिचान दिनेछ। यसलाई सहि तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन समेत ठूलो मद्दत पुग्नेछ।

हामीले अरुको देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतीलाई भुल्न हुँदैन। देशका सबै किसिमका चाड पर्व मनाउँ, हाम्रो संस्कृती बचाउँ।

लेखक : प्रल्हाद दाहाल

(नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन्)