मंगलबार, ०२ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिवद्धता कार्यान्वयन गर्नु पर्नेमा जोड दिए।

प्रधानमन्त्रीले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गरे।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको भन्दै उहाँले पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षाको लगानीमा ठूलो धक्का लागेको तथा बाह्य ऋणले जोखिम बढाएको बताए।

प्रधानमन्त्री दाहालले दोहा कार्ययोजना, जसप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धतालाई स्वीकार गर्न आग्रह गरे। उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यकता औल्याएका छन्। राष्ट्रसंघको ७८ महासभामा सहभागी हुन प्रधानमन्त्री अहिले अमेरिकाको न्युयोर्कमा छन्।