शुक्रबार, १९ साउन २०८०, दोलखा । नेपालमा डेंगु भाइरसको संक्रमण बढी सक्रिय रहेको पाइएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यस पटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो। महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिनुभयो। माहाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमुना परीक्षण गरेको थियो। परीक्षणमा सेरोटाइप– १, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको थियो। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो।
लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ। त्यसैले मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झयालढोकामा जाली हाल्न महाशाखाले आग्रह समेत गरेको छ।