दोलखाको जिरीकी एक महिला ठगी आरोपमा पक्राउ, अनुसन्धान गर्दै विभाग


कृष्ण बुढाथोकी

सोमबार, २२ साउन २०८०, दोलखा । दोलखाको जिरी नगरपालिकाकी एक महिला क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा जिरी नगरपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठमा बस्दै आएकी २७ वर्षिया फुलमाया जिरेल रहेकी छिन्। उनले नवराज घिमिरेलाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ३ लाख ७४ हजार रकम लिएर सम्पर्क विहिन भएकी थिइन्। क्यानडा जान १० लाख लागत लाग्ने र मासिक एक लाख तलव हुने भन्दै उनले घिमिरेबाट पटक–पटक गरी ३ लाख बढी रकम लिएपछि सम्पर्क विहिन भएकी थिइन्। त्यसपछि घिमिरेले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सो उजुरीपछि विभागले जिरेलको खोजी गरिदिन प्रहरीलाई पत्राचार गरेको थियो।

विभागको पत्रका आधारमा खोजी गर्ने क्रममा जिरेललाई काठमाडौंको मिनभवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक मिलन केसीले जानकारी दिएका छन। पक्राउ परेकी जिरेलमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर