मंगलबार, २३ साउन २०८०, दोलखा । संसद अवरोध हटाउने बिषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी छ।

सभामुख देवराज घिमिरेले संसद अबरोध हटाउने विषयमा पहल गर्दै आज सोमबार १ बजे पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक राखेका थिए। तर १ बजेको बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक आजै साढे ३ बजे बस्ने तय भएको छ। त्यसपछि अहिले नेताहरुबीच छलफल भइरहेको हो।

बानेश्वरको संसद भवनमा सभामुख घिमिरेको कार्यकक्षमा भइरहेको छलफलमा सभामुख घिमिरेका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको सहभागिता रहेको छ। झण्डै सय किलो सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानविन समिति माग गर्दै संघीय संसदका दुवै सदन राष्ट्रिय र प्रतिनिधि सभाको बैठकहरु अवरुद्ध गरिरहेको थियो। यस अघि हिजो बसेको बैठकमा प्रधानमन्त्री दाहालले संसद बैठक खुलाउने विषयमा सैद्धान्तिक सहमती भएको र साढे ३ बजेपछि बस्ने बैठकले त्यसलाई टुंगोमा पुर्‍याउने प्रतिक्रिया दिएका थिए। उता बैठकमा एमालेले भने सुन प्रकरण छानविनका लागि सत्तापक्ष सहमत भएमात्रै संसद बैठक अगाडि बढने अडान राखेको थियो।

यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो। यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको हो। सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।