मंगलबार, २३ साउन २०८०, दोलखा । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज मंगलबार पनि बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक डाकिएको छ। सभामुख घिमिरेसहित सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि मंगलबार पुनः बैठक बस्न लागेको हो।

सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच सोमबार दुईपटक छलफल भएको थियो। सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्न सकेन।

एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै संसदको अवरोध गर्दै आएको छ।