विहीबार, २५ साउन २०८०, दोलखा । काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ। खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो।

बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेको मेयर मिठाराम अधिकारीले जानकारी दिए।

‘महानगरले बुढानीलकण्ठ क्षेत्रको सात तलेमा डोजर चलाएपछि विवाद भएको हो। स्थानीयले डोजर चलाउन अवरोध गरेका हुन्’, मेयर अधिकारीले भने, ‘विवादपछि अहिले हामी छलफल गरिरहेका छौँ।’

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीय बीच झडप समेत भएको स्थानीयले बताएका छन्। उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ। खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ। जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन्।